महेन्द्रनारायण निधिको जीवनशैली पछ्याउन, दुर्गानन्द झाको साहस र कामेश्वरकुशेश्वरको रगतको सम्मान गर्न मधेश आएँ : गगन थापा

 

जनकपुरधाम, फागुन ६ ।

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले  कांगे्रसले देशको नेतृत्व लिएर कुसाशन हटाउने प्रतिज्ञा गरेका छन् । जनकपुरको तिरूहुतियागाछीमा आयोजित प्रतिज्ञासभालाई सम्बोधन गर्दै  थापाले सबैलाई समेटेर लैजान काँग्रेस सक्षम रहेको बताए । उनले कुरा हैन काम काम गर्न आएको प्रतिवद्धता जनाएका छन् ।

सभापति थापाले भने,  ‘मधेशबाट काँग्रेसले देश बदल्ने सहास लिएको छ । आँट लिएको छ । अब मधेशले देशको संघीयतालाई कार्यान्वयन गराउन जरूरी छ ।’ उनले मधेशले देशलाई नेतृत्व गर्ने शिक्षा, स्वास्थ्य र विज्ञान र सूचना प्रविधिको क्षेत्र भएकाले मधेशले अब परविर्तन गर्नुपर्ने बताए । उनले मधेशलाई ज्ञानको केन्द्र बनाउन काँग्रेस मधेश झरेको बताए ।

उनले भने, ‘मधेशको शिक्षा नभएको भए आज पहाडमा गणित राम्रो पढाइ हुँदैनथ्यो । पहाडमा मधेशका शिक्षकले पढाएका हुन् । उनकै शिक्षाले देश शिक्षित भएको छ । तर आज मधेशको  शिक्षा, स्वास्थ्य र विज्ञानको  अवस्था जर्जर छ, यहाँ किसान, उखु किसानको अवस्था, पर्यावरणको अवस्था भयावह छ ।  खानेपानीको समस्या समाधान गर्न म मधेश आएको हुँ ।’

उनले  मधेशले सिंगो देशलाई पाल्न सक्ने तागत बोक्न सक्ने बनाउने प्रतिज्ञा गरेको बताए । उनले मधेशका या देशका जुनसुकै युवा विदेशमा भए त्यहाँ दूतावास राखेर भए पनि नेपालीको हेरचाह  गर्ने व्यवस्था गर्ने बताए ।  उनले भने,  ‘अब मधेश वा कुनै क्षेत्रका नेपाली विदेशमा रहेछ भने उसको हेरचाह गर्न नेपाल सरकारले दूतावासको व्यवस्था र कर्मचारीको व्यवस्था गर्छ ।’

थापाले मधेशको वित्तीय  संरचना खलबलिएकाले यहाँका सहकारी ठगहरूलाई तह लगाउन काँग्रेस मधेश आएको बताए । ‘यहाँको वित्तीय संस्था खलबलिएको छ’, उनले भने, ‘सहकारी ठगहरूको विगबिगी बढेको छ । सहकारी ठगहरूलाई तह लगाउन काँग्रेस मधेश झरेको छु ।’

सभापति थापाले मधेशका युवाहरूले देखेको क्रिकेटको सपना पूरा गराउन चाहेकाले यहाँ क्रिकेट एकाडेमी  बनाउने रहेको समेत बताएका छन् । उनले भने, ‘मैले  यहाँका युवाहरूको क्रिकेटको सपना पुरा गर्न चाहन्छु ।’ उनले आफू मधेशको बेटा बन्न आएको भन्दै दुर्गानन्दको साहस, कुशेश्वरको रगतको सम्मान र महेन्द्रनारायण  निधिको जीवनशैली पछ्याउन यहाँ आफू मधेशमा आएको बताए ।

काँग्रेस पखालिएर जनविश्वास लिन मधेश आएको सभापति थापाले बताए । ‘अब हामी मत मात्रै होइन विश्वास र भरोसा लिन आएका छौं । देशलाई सँगसँगै हिडाउन र परिवर्तन देख्न आएको हुँ । म सबै युवाहरूको सपना पूरा गर्न र युवाहरूको साझा पार्टी बनाउन आएको हुँ ।’

प्रतिक्रिया
संबन्धित समाचार
ताजा समाचार
लोकप्रिय