
खबर मधेश समाचारदाता
जनकपुरधाम, १९ असार ।
चार दिनअघि प्रादेशिक अस्पताल सिरहामा स्थाान्तरण गरिएका प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा.सुनिल कुशवाहाको सरुवालाई उच्च अदालत जनकपुरले यथास्थितिमा राख्न मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई अल्पकालीन आदेश दिएको छ ।
केन्द्र निर्देशक सरुवा स्थगनसम्बन्धी निवेदनको सुनुवाइ गर्दै उच्चका न्यायाधीश राजुराम सिलवालको एकल इजलासले डा.कुशवाहाको सरुवा तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न अल्पकालीन आदेश जारी गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असार १२ गते केन्द्रका निर्देशक एघारौँ तहका अधिकृत डा.कुशवाहालाई प्रादेशिक अस्पतालल सिरहामा सरुवा गरेको थियो । उनको ठाउँमा प्रदेश स्वास्थ्य तालिम केन्द्र पथैलयाका निमित्त निर्देशक डा.राजीवकुमार झालाई ल्याइएको थियो ।
केन्द्रसमेतको आर्थिक तथा प्रशासनिक काम गर्नेगरी थप जिम्मेवारी पाएका डा.झा गत असार १६ गते केन्द्रका निमित्त निर्देशकका रूपमा पदभार ग्रहण गरेका थिए । दसौँ तहका वरिष्ठ कन्सलटेन्ट मेडिकल जनरलिस्ट डा.झा यसअघि पनि केन्द्रका निमित्त निर्देशक भइसकेका छन् ।
उच्च अदालतले निवेदक र विपक्षी दुवै पक्षको छलफल सुनी अन्तरिम आदेश दिे भन्दै असार २७ का लागि पेसी तोकेको छ । केन्द्र निर्देशकको सरुवासम्बन्धी मुद्दामा पेसी तोकिएको दुई दिनअघि नै चालू आर्थिक वर्षको भुक्तानी गर्ने समयसीमा सकिँदैछ ।
केन्द्र निर्देशक कुशवाहालाई कामकाजमा तीव्रता नदिएको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले सरुवा गरेको थियो । त्यसबेला उनको ठाउँमा ल्याइएका डा.झा मेडिकल सामग्री आपूर्ति गर्ने पण्डित गिरोहका दुलरुवा पात्र मानिन्छ ।