जनकपुरधाम, फागुन ६ गते ।
नेपाली काँग्रेसले प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा जनतामाझ प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । नेपालको ऐतिहासिक तथा साँस्कृतिक नगरी जनकपुरधाममा काँग्रेसले बुधबार प्रतिज्ञापत्र सार्वजनिक गरेको हो । पार्टी सभापति गगनकुमार थापा, उपसभापति एवम् निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुषाल, मधेस प्रदेशका सभापतिसहित पार्टी नेताहरूको सहभागिता रहेको विशाल सभामा प्रतिज्ञापत्र सार्वजनिक गरिएको छ ।
प्रतिज्ञापत्र सार्वजनिक भएपछि पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी त्यसमा उल्लिखित भिजन १० का बुँदाबारेमा जानकारी गराइएको छ । काँग्रेसले आमनिर्वाचनबाट बहुमतसहितको लोकतान्त्रिक र लोकहितमा समर्पित सरकार बनाउने लक्ष्य लिएको प्रतिज्ञापत्रमा उल्लेख छ ।
कांग्रेसले यसपटक जिम्मेवारी, दृष्टिकोण र संकल्पको आत्मबोधबाट नेपाल संसारकै एक उत्कृष्ट देश बन्न सक्ने भावना, कार्ययोजना र आधारसहितको प्रतिज्ञापत्र प्रस्तुत गरेको पार्टी प्रवक्ता देवराज चालिसेले बताए ।
पत्रकार सम्मलेलनमा उनले प्रतिज्ञापत्रका हरेक अक्षरका प्रस्ट अर्थ रहेको बताए । प्रतिज्ञापत्रमा उल्लेख भएका योजना कार्यान्वयनका आधारमा कार्यसम्पादन मूल्यांकन हुनुपर्ने कांग्रेसको चाहना रहेको उनको भनाइ छ । सम्मानित भएर बाँच्न पाउने नेपालदेखि समुन्नतिमा लम्कने नेपालसम्मको योजना काँग्रेसले अघि सारेको छ ।
प्रतिज्ञापत्र केवल देखाउन मात्रै नभई कार्यान्वयन गरेर समुन्नत नेपाल सम्मानित नेपालीको नारालाई व्यवहारमा ल्याउने प्रतिबद्धता कांग्रेसको छ । ‘नेपाली कांग्रेसले चाहेको यतिमात्र छ कि आगामी दिनहरूमा आम मतदाता र जनताले प्रतिज्ञापत्रको कार्यान्वयनका आधारमा पार्टी, नेता र कार्यकर्ताको कार्यसम्पादन मूल्यांकन गर्नुहुनेछ’, विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेसले आफ्नो प्रतिज्ञा पुरा गर्नबाट अमूक र अर्मूत कारण देखाएर जिम्मेवारीबाट भाग्ने छैन ।’
नेपाली काँग्रेसको प्रतिज्ञापत्रलाई सरल शब्दावलीमा ‘भिजन टेन’ को सार–संक्षेपमा प्रस्तुत गरेको छ । जसलाई अर्को शब्दाबली काँग्रेसले ‘काँग्रेस टु प्वाइन्ट जिरो’को जगका रूपमा व्याख्या गरेको छ । प
काँग्रेसका १० भिजन
१ सम्मानित भएर बाँच्न पाउने नेपाल
२ सपना देख्न सक्ने नेपाल
३ सम्पत्ति र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने नेपाल
४ पेटभरि खुवाउने, देशलाई चिनाउने किसानको नेपाल
५ ओखती र ओत दिने नेपाल
६ छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल
७ बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल
८ मौलिकतमा गर्व गर्ने आधुनिक नेपाल
९ विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल
१० समुन्नतिमा लम्किने नेपाल




