जलेश्वर, फागुन १२ ।
जसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारीले परिवर्तनको अर्थ मानसिकता, दृष्टिकोण र व्यवहारमा आउने बदलाव भएको भन्दै जेनजी आन्दोलनबाट विकसित चेतनालाई पुनर्परिभाषित गरी सही ढङ्गले अघि बढाउनुपर्ने बताएका छन् ।
आफ्नो निर्वाचन क्षेत्र महोत्तरी क्षेत्र नम्बर २ मा चुनावी प्रचारअन्तर्गत घरदैलोमा लागेका उनले आफू जनतासँग प्रत्यक्ष संवाद गरी भावना र विश्वास साझा गरिरहेको बताए । वरिष्ठ नेता भण्डारीले तीन तहका सरकारले गर्ने कामका बारेमा जनतालाई बुझाउन नसकिँदा नीति र कानुन बनाउने सङ्घीय सांसदसँग ढलपानीजस्ता विकासको अपेक्षा बढेको बताए । उनले सांसदले बनाउने नीति, कानुन र नियमबाट भौतिक विकास र समृद्धिका अवसर सिर्जना हुने विषयमा आफूले जनतामाझ राखिरहेको उल्लेख गरे ।
उनले पदीय जिम्मेवारीका कारण जनतासँग सधैँभरि भेटघाट गर्न कठिन भइरहेको स्थिति हुने भन्दै क्षेत्रमा हुने सामाजिक, सांस्कृतिक र पारिवारिक कार्यक्रमहरूमा सहभागी हुँदा जनताका गुनासा एवम् अपेक्षाबारे छलफल हुने गरेको र त्यसलाई थप निरन्तरता दिने बताए ।
वरिष्ठ नेता भण्डारीले सीमित स्रोत र कर्मचारीतन्त्रको हेलचेक्रयाइँका कारण मधेशमा विकास निर्माण प्रभावकारी हुन नसकेको भन्दै यसको मारमा मधेशी, दलित, आदिवासी, जनजाति, पिछडावर्ग लगायत बहिष्करणमा परेका वर्ग र समुदायले भोग्नुपरेको बताए ।
उनले यथास्थितिमै निर्वाचन भइरहेकाले आमूल परिवर्तनको अपेक्षा सङ्कटग्रस्त भएको भन्दै त्यही राज्य संरचना, त्यही संसदीय प्रणाली र त्यही प्रधानमन्त्री बन्ने पद्धतिबाट परिवर्तन खोज्नु असम्भव रहेको दाबी गरे । उनले भने, ‘देशलाई अग्रगति दिे हो भने संवैधानिक तथा कानुनी संरचना एवम् व्यवस्था परिवर्तनका लागि संविधानको संशोधन र पुनर्लेखन जरुरी छ ।’
नेता भण्डारीले पछिल्लोपटक जनताको चुलिएका अपेक्षा राजनीतिक दल र नेताका लागि गम्भीर भएको बताउँदै यसप्रति आफू पनि संवेदनशील रहेको प्रस्ट्याए ।




