‘दागीबहुल रास्वपा त्यागेर काँग्रेसमा प्रवेश गरेँ’ : ममता शर्मा

जनकपुरधाम, फागुन ६ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । जनकपुरधामको तिरुहुतियागाछीमा आयोजित कांग्रेसको प्रतिज्ञासभामा उनलाई पार्टी केन्द्रीय सभापति गगनकुमार थापाले पार्टीमा स्वागत गरे ।

पार्टी प्रवेश गरेसँगै उनले रास्वपामा दागैदाग भएकाहरूको बिगबिगी रहेकाले कांग्रेसमा प्रवेश गरेको बताइन् । उनले प्रतिज्ञा सभामा बोल्दै उनले भनिन्, ’रास्वपा पार्टीमा दागैदाग भएकाले टिकट पाएपछि आफूले गरेको योगदान खेर गएकोले मैले सो पार्टी परित्याग गरी जेनजीको भावना बोक्ने र सुशासनमा जोड दिने पार्टी नेपाली कांग्रेसमा प्रवेश गरेकी हुँ।’

उनले कांग्रेस ८० वर्षको विरासत बोकेको मात्रै नभइ मधेसको आवाजलाई पहिलो प्राथमिकतामा राखेर वर्तमान सभापति नै मधेस आएर उम्मेदवारी दिएकाले हामी सबैले मधेशी जनताले साथ दिनुपर्ने बताइन् ।
उनले हरेक पटकको चुनावमा मधेशले नेताहरूलाई भोट दिएको तर नेताहरूले मधेसलाई चोटैचोट दिएको हुनाले यसपटक बदलिएको कांग्रेसलाई भोट दिन पनि अपिल गरिन् ।

शर्माले अहिलेको गगन नेतृत्वको कांग्रस नयाँ रास्वपा भएको तर वैकल्पिक भनिएका रास्वपा भने पुरानो कांग्रेसको शैलीमा गएको टिप्पणी गरिन् । उनले भनिन्, ’अहिले कांग्रेस गगनदाइको नेतृत्वमा बदलिएर नयाँ रास्वपा जस्तो बनेको छ । तर, आफूलाई वैकल्पिक भनिएका रास्वपाका नेताहरू दागैदाग भएका,आर्थिक चलखेलमा मुछिएका, मुद्दैमुद्दामा लागेका छन् । सब पुराना कांग्रेस जस्ता छन् ।’

उनले मधेसबाट खाडीमा हरेक घरबाट एकजना पुरुष वैदेशिक रोजगारीमा गएकाले यहाँ महिला नै भोटमा निर्णायक भूमिका रहेको बताइन् । साथै उनले महिलाको सम्मान, त्याग र बलिदानलाई बुझ्ने पार्टी कांग्रेस भएकाले यस पटककको मत सोचेर गाछीमै हाल्न अनुरोध गरिन् ।

प्रतिक्रिया
संबन्धित समाचार
ताजा समाचार
लोकप्रिय