
खबर मधेश समाचारदाता
जनकपुरधाम, १६ असार ।
मधेश प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्न नेपाली काँग्रेस मधेश प्रदेशले चर्को दबाब बनाइरहँदा सत्तारुढ दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रदेश सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग गरेको छ ।
लोसपा नेपालका केन्द्रीय महासचिव एवम् प्रदेशसभा सदस्य उपेन्द्र महतोले प्रदेशमा रहेको जनमत नेतृत्वको सरकारको पालो सकिएको भन्दै पूर्वसहमतिअनुसार लोसपा नेपालको नेतृत्वमा गठबन्धन सरकार बन्नुपर्ने माग गरेका छन् ।
खबर मधेशसँग कुरा गर्दै उनले जनमत पार्टी नेतृत्वको सरकार बन्ने बेलामै नेपाली काँग्रेस, नेकपा एमाले र जनमत पार्टीबीच एक वर्षपछि सरकारको नेतृत्व फेरिने सहमति भएको आफूहरूलाई जानकारी गराइएको र त्यसरी चक्रीय प्रणालीमा सत्ता हस्तान्तरण हुने सुनिश्चिततापछि मात्र आफूहरू सरकारमा सहभागी भएको बताए ।
उनले भने, ‘तर, जनमत पार्टी सरकारको नेतृत्व छाड्ने छाँट देखिएको छैन । यो गठबन्धन राजनीतिको नैतिकताविपरीत व्यवहार हो । अझ राजनीतिक बेइमानी हो ।’
महासचिव महतोले मौजुदा प्रदेश सरकार बाटो बिराएको, बेतिथिपूर्ण कार्यको सर्जक र साक्षी बनेको तथा सरकारको नेतृत्व गर्ने पार्टी समन्वयात्मक ढङ्गले सत्ता सञ्चालन गर्न नसकेकाले पनि पालोअनुसार छिटोभन्दा छिटो सत्ता नेतृत्व लोसपा नेपाललाई सुम्पनुपर्ने जिकिर गरे । ‘सत्ता हस्तान्तरणमा जति ढिलाइ हुन्छ । सरकार सञ्चालन गति र मति उत्ति नै बिग्रँदै जान्छ,’ उनको भनाइ छ ।
देशका सात प्रदेशमध्ये तीनमा नेपाली काँग्रेस र तीनमा नेकपा एमालेको नेतृत्वमा संयुक्त सरकार रहेका र मधेशमा मधेशकेन्द्रित दलकै नेतृत्वमा सरकार रहने सत्ता गठबन्धनमा आबद्ध दलहरूबीचको सहमतिअनुसार नै आफूहरूले प्रादेशिक सत्ताको नेतृत्व गर्न पाउनुपर्ने माग अघि सारेको महासचिव महतोले प्रस्ट्याए ।
उनले नेकपा माओवादी केन्द्रसहितको गठबन्धन हुँदा जसपा नेपालपछि लोसपालाई नै सरकारको नेतृत्व दिने सहमति भएको स्मरण गर्दै उनले गठबन्धनमा नेकपा एमालेको प्रवेशपछि लोसपा नेपाललाई रोकेर जनमत पार्टीलाई प्रदेश सरकारको नेतृत्व दिइएको बताए । उनले जनमत पार्टीलाई सरकारको नेतृत्व दिने वचन दिएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनमतपछि लोसपालाई नै सरकारको नेतृत्व दिने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए ।
महासचिव महतोले गठबन्धन संस्कृति, सहमति र अभ्यासअनुरूप प्रदेशमा सत्ता हस्तान्तरण प्रक्रिया छिटो टुङ्याउन उच्च तहमा संवाद हुने बताए ।
प्रदेश सरकारको नेतृत्व गन पाउनुपर्ने माग नेपाली काँग्रेसले समेत गर्दैआएको छ । प्रदेश काँग्रेसले बजेट पुस्तिकामा समाविष्ट योजना र विनियोजित रकमका बारेमा जनमत पार्टीका मुख्यमन्त्रीलाई चोख्याउने गरी जनमत पार्टीका नेतृत्वले काँग्रेसका अर्थमन्त्रीमाथि लगाइरहेका आरोप सत्ता लम्ब्याउने चाल रहेको विश्लेषण गरेको छ ।
‘बजेट निर्माणको कार्य मुख्यमन्त्रीको प्रत्यक्ष संलग्नता र निर्देशनमा भएको छ । यस्तोमा कुनै मन्त्रालयबाट योजना छनोट र बजेट विनियोजनमा त्रुटि भएको छ भने त्यसको नैतिक जिम्मेवारी मुख्यमन्त्रीले नै लिनुपर्छ,’ प्रदेश काँग्रेसका सभापति कृष्णप्रसाद यादवले भने । उनले बजेट पुस्तिकालाई लिएर जनमत पार्टी सत्ताको नेतृत्व परिवर्तन हुने विषयलाई अलमलमा पार्न खोजेको आरोप लगाए ।