मधेश प्रदेशको स्वास्थ्य आपूर्ति केन्द्रबाट कुशवाहा आउट, डा.झा बने निर्देशक

खबर मधेश समाचारदाता
जनकपुरधाम, १६ असार ।
आर्थिक वर्ष सकिन केही दिनमात्र बाँकी हुँदा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा.सुनिल कुशवाहाको सरुवा गरिएको छ । उनको ठाउँमा प्रदेश स्वास्थ्य तालिम केन्द्र पथैलयाका निमित्त निर्देशक डा.राजीवकुमार झालाई ल्याइएको छ । वरिष्ठ कन्सलटेन्ट मेडिकल जनरलिस्ट डा.झालाई सोमबार केन्द्रसमेतको आर्थिक तथा प्रशासनिक काम गर्नेगरी थप जिम्मेवारी दिइएको हो ।

केन्द्रका निर्देशकबाट हटाइएका एघारौँ तहका डा.कुशवाहालाई प्रादेशिक अस्पताल सिरहामा काज खटाइएको छ ।

दसौँ तहका डा.झा यसअघि पनि तुलनात्मक रूपमा महत्त्वपूर्ण र अधिक बजेट परिचालन हुने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख भइसकेका स्वास्थ्य अधिकारी हुन् । स्वास्थ्य सेवासँग सम्बन्धित आपूर्तिमा काठमाडौँको पण्डित समूह बलियो हुँदा डा.झा ती दुवै ठाउँमा प्रमुख भएर आउने गरेको विगत छ ।

पछिल्ला दिनमा मधेश प्रदेश सरकारमा पण्डित समूहविरुद्ध एकअर्को समूहको हालीमुहाली भएपछि उनलाई कम महत्त्व र थोरै बजेट भएको प्रदेश स्वास्थ्य तालिम केन्द्र पठाइएको थियो ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्दका निर्देशकमा डा.कुशवाहालाई चार महिनाअघि ल्याइएको थियो ।

स्रोतका अनुसार डा.झा निर्देशक भएका बेला टेन्डर गरिएका तीन प्रकारका सामग्री खरिद प्रक्रियालाई डा.कुशवाहाले स्थगन गरेपछि क्रुद्ध पण्डित समूहले उनलाई केन्द्रको निर्देशकबाट हटाउन भरमग्दुर प्रयत्न गरिरहेको थियो ।

डा.कुशवाहाले प्रदेशका स्वास्थ्य संस्थालाई अत्यावश्यक औषधि र स्वास्थ्य सामग्री आपूर्तिका लागि सुदृढ व्यवस्थापन गर्न नसकेको र त्यसकारणले प्रदेश सरकार आलोचित भइरहेकोमा आक्रोशित मुख्यमन्त्री सतिशकुमार सिँहले केही समयअघिदेखि नै डा.कुशवाहाको विकल्प खोजिरहेका थिए । निर्देशक कुशवाहाले काम गर्न नसकेकोमा मुख्यमन्त्रीको असन्तुष्टि र उनै निर्देशकले आफ्नो समूहलाई हानी हुनेगरी टेन्डर रद्द गरेको पण्डित समूहको ठम्याइका कारण निर्देशक सरुवाको आधार बनेको स्रोतको भनाइ छ ।

निर्देशक डा.कुशवाहाले निःशुल्क बाँडिने ८ करोड रुपैयाँबराबरको अत्यावश्यक औषधि खरिद, ८ करोड रुपैयाँ बराबरको नसर्ने रोगका औषधि खरिद र १० करोड रुपैयाँमा खरिद गर्नुपर्ने दुईवटा बेबी फलोरिमिटर(मेसिन) को खरिद प्रक्रिया त्रुटिपूर्ण भएको भन्दै रद्द गरेका थिए ।

निमित्त निर्देशक भएको पत्र पाउनेबित्तिकै डा.झा सोमबार साँझ कार्यालयमा हाजिर भएका छन् ।

केन्द्रबाट सिरहास्थित प्रादेशिक अस्पताल पठाइएका डा.कुशवाहाले आफूले त्रुटिपूर्ण भन्दै रद्द गरेका टेन्डर कुनै पनि हालतमा डा.झाले पुनर्जीवित गर्न नसक्ने बताए ।

प्रतिक्रिया
संबन्धित समाचार
ताजा समाचार
लोकप्रिय