
खबर मधेश समाचारदाता
जनकपुरधाम, १५ असार ।
मधेश प्रदेश सरकारमा बस्ने वा नबस्ने विषयलाई लिएर जनमत पार्टीभित्र अन्तर्विरोध चर्केको छ । पार्टी सचिव बिपी साहले आइतबारको सचिवालय बैठकमा प्रदेश सरकारले पार्टीका नीति तथा जनताका भावनाबमोजिम काम गर्न नसकेकाले सरकारबाट बाहिरिनुपर्ने प्रस्ताव गरेका हुन् ।
सचिव साहको प्रस्तावलाई कार्यकारिणी समितिमा लाने आश्वासन पार्टी अध्यक्ष डा.सिके राउतले दिएका छन् । मधेश प्रदेशसभामा गत बुधबार बजेट पुस्तिका प्रस्तुत भएपछि मच्चिएको हल्लाखल्लाबीच चरम असन्तुष्टि व्यक्त गरेका डा.राउतले शनिबार राजविराजमा बजेट विनियोजनकै कारणले सरकारबाट जनमत नबाहिरिने स्पस्ट पारे । उनले भने, ‘दीर्घकालीन योजनामा बजेट कम छुट्याइएकाले हामीले असन्तुष्टि व्यक्त गरेका छौँ ।’
दुई दिनअघि डा.राउतको सचिवालयले बजेट पुस्तिकामा समावेश योजनालाई लिएर गम्भीर आक्रोश व्यक्त गरेको छ । डा. राउतको सचिवालयको आइडीबाट फेसबुकमा गरिएको पोस्टमा भुइँस्तरमा कुनै प्रभाव देखिने ठूला योजना बिचौलिया र माफियाका कारण छुट्याइएको र जनताले खोजेका थुप्रा योजनामा पाँच–पाँच लाख रुपैयाँ छुट्याइएको भनिएको छ । सोही पोस्टमा आफूहरूलाई मुख्यमन्त्री दिएकै भरमा जहिले जे पनि मान्दिनुपर्ने भन्ने प्रश्नसमेत गरिएको छ ।
सचिवालयको नाउँमा गरिने पोस्टहरूलाई डा.राउतको आधिकारिक धारणा मान्ने गरिएको छ ।
यता सरकारको नेतृत्व गरेको जनमत पार्टीका अध्यक्षले बजेटका बारेमा गैरजिम्मेवार, सतही र दुराशयपूर्ण अभिव्यक्ति दिएको भन्दै नेपाली काँग्रेस प्रदेश समितिले आपत्ति व्यक्त गरेको छ । मधेश प्रदेश काँग्रेसले मुख्यमन्त्री सतिशकुमार सिँह मन्त्रालयहरू चहार्दै बजेट विनियोजन गराएका टिप्पणीसमेत गरेको छ ।
प्रदेश सरकारको अर्थ मन्त्रालयमा काँग्रेसको नेतृत्व छ । काँग्रेसका मन्त्रीले मुख्यमन्त्रीलाई उपेक्षा गरेर विभिन्न योजनामा बजेट विनियोजन गरेको जनमत पार्टीको आशयलाई लिएर प्रदेश काँग्रेस क्रुद्ध छ । प्रदेश काँग्रेसका अध्यक्ष कृष्णप्रसाद यादवले सरकारको नेतृत्व र नियमन मुख्यमन्त्रीको जिम्मेवारी भएकाले कुनै मन्त्री वा मन्त्रालयबाट भएको जिम्मेवारीको नैतिक दायित्व मुख्यमन्त्रीले नै लिनुपर्ने बताए ।
बजेट पुस्तिकामा समावेश योजना र विनियोजित रकमका विषयमा सत्तारुढ दलहरूबीचको विवाद र विमति चुलिँदै जाँदा प्रदेशको सत्ता समीकरण नै फेरिने तहसम्मको प्रयास आरम्भ भएको छ ।
केही दिनअघि काँग्रेस सभापति शेरबहादुर देउवाले जननकपुरधाममा आयोजित एक कार्यक्रममा पालो कुरेका काँग्रेसले अबका केही समयभित्र प्रदेश सरकारको नेतृत्व काँग्रेसले गर्ने बताएका थिए । त्यसपछि सरकारको नेतृत्व गर्ने पालो पर्खेको काँग्रेसले सत्ता समीकरणमा अवश्यम्भावी फेरबदल रोक्न बजेट पुस्तिका विवाद खडा गरिएको निष्कर्ष निकालेको छ ।
जनमत पार्टी दुई मन्त्रालयसहित प्रदेश सरकारको गत एक वर्षयता नेतृत्व गरिरहेको छ ।