खबरमधेश समाचारदाता
जनकपुरधाम ।
सप्तरीमा अविरल वर्षापछि बाढी र डुबानको समस्या दोहोरिएको छ भने अर्कोतर्फ जङ्गली हात्तीले किसानको बालीनाली नष्ट गर्न थालेको छ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्णले सरकारको ध्यानाकर्षण गराउँदै बाढीपीडितलाई तत्काल राहत र हात्तीबाट क्षति भएका किसानलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् ।
सांसद कर्णका अनुसार तीन दिनदेखिको वर्षाका कारण हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका खेत डुबानमा परेका छन् भने पाँच सयभन्दा बढी घर प्रभावित भएका छन् । सप्तकोशी नगरपालिकाको कमलपुर र कञ्चनरूप नगरपालिकाको बस्तीपुरमा हात्तीले खेतमा लगाइएको बालीनाली नष्ट गरेको उनले बताए । पछिल्ला दिनमा कञ्चनरूप क्षेत्रमा हात्तीले धानबालीमा क्षति पु¥याएको समाचारसमेत सार्वजनिक भएका छन् ।सप्तरीको डुबान भने यसपटकको वर्षासँग मात्र जोडिएको समस्या होइन । वर्षा हुँदा पहाडी तथा चुरे क्षेत्रबाट बगेर आउने पानी र गेग्रानले नदीको सतह उकासिँदै जानु तथा नदीको प्राकृतिक बहाव साँघुरिनुका कारण दक्षिणी सप्तरीका बस्तीमा वर्षेनी डुबान दोहोरिँदै आएको छ । खाँडो नदीमा बाढी आउँदा तिलाठी कोइलाडीलगायतका बस्ती डुबानमा पर्ने गरेको विगतका घटनाले पनि जोखिम देखिएको छ ।
खाँडोको समस्या नदीभित्रको पानी मात्र होइन, माथिल्लो जलाधारबाट वर्षासँगै आउने गेग्रान र पानीको निकाससँग पनि जोडिएको छ । त्यसैले वर्षा भएपछि बाढी आउने र बाढी आएपछि राहत बाँड्ने चक्रभन्दा माथि उठेर जलाधार संरक्षण, नदीको बहाव व्यवस्थापन, तटबन्धको दीर्घकालीन मर्मत तथा पानीको प्राकृतिक निकासको संरक्षणलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने विज्ञहरूले बताउँदैआएका छन् ।
यता हात्तीको क्षति पनि सप्तरीका किसानका लागि वर्षेनी दोहोरिने समस्या बन्दै गएको छ । बाली पाक्ने समयमा वन्यजन्तु बस्ती र खेततर्फ पस्दा किसानले उत्पादन मात्र होइन, लगानीसमेत गुमाउने गरेका छन् ।
सांसद कर्णले संसद्मा तत्काल राहत र क्षतिपूर्तिको प्रश्न उठाएका छन् । उनले सप्तरीमा वर्षा हुँदा बाढी र बाली पाक्दा हात्ती आउने जोखिमलाई तत्काल सम्बोधन गरिनुपर्ने पनि बताए ।




