जनकपुरधाम,
मधेश प्रदेशको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा.नागेन्द्रप्रसाद यादवलाई बढी बजेट परिचालन हुने तथा असार मसान्तमा नै खर्च हुने प्रदेश जनस्वास्थ्य प्रयोगशालामा थप जिम्मेवारी दिइएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशकका रूपमा थप जिम्मेवारी दिइएका डा.यादव सङ्घ सरकारको स्वास्थ्य सेवाअन्तर्गत सर्जरी समूहतर्फका दसौँ तहका कर्मचारी हुन् । उनको चितवनस्थित भरतपुर अस्पतालमा दरबन्दी भई गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा काज रहेको बताइएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निर्देशक पदमा एघारौँ तहका प्याथोलोजी/मेडिकल ल्याब टेक्नोलोजिस्टको दरबन्दी छ । डा. यादव कार्यरत प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र प्रमुखमा समेत जेनरल हेल्थ सर्भिस समूहको एघारौँ तहको दरबन्दी छ ।
यसअघि प्रदेशमा कार्यरत आफ्ना कर्मचारीहरू डा.राजीव झा, डा.रञ्जित झा र डा.रामदेव चौधरीलाई केही समयअघि सङ्घ सरकारले फिर्ता बोलाएको छ । “तर, प्रदेशमा कार्यरत तीन चिकित्सकलाई सङ्घ सरकारले फिर्ता बोलाएकै बेला दसौँ तहका डा.यादवलाई मधेश प्रदेश सरकारका लागि काम गर्न पठाइएको थियो,” मन्त्रालयका एक अधिकारीले भने । प्रदेशमा आएलगत्तै डा.यादवलाई मन्त्रालयअन्तर्गतका दुई प्रमुख अड्डा प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र र प्रदेश जनस्वास्थ्य प्रयोगशालाको जिम्मेवारी लगालग दिइएको छ । सङ्घ सरकारले सरकारी चिकित्सकलाई दरबन्दीमा जान भनेका बेला डा.यादव प्रदेशमा आउनु र सेवासमूह नमिले पनि एकपछि अर्को ठूल्ठूला अड्डाको प्रमुख बन्नुलाई अर्थपूर्ण ढङ्गले हेरिएको छ ।
प्रदेशको ती दुई अड्डामा आउने कर्मचारीलाई काठमाडौंको एक शक्तिशाली मेडिकल सामग्री आपूर्तिकर्ताको विशेष चासो र लबिङका आधारमा पठाउने गरिएको चर्चा प्रदेश गठन भएयतादेखि नै चल्दै आएको छ । सिंहदरबार नजिकको होटलका समेत सञ्चालक भनिएका ती व्यावसायीको विश्वासबिना कुनै पनि अधिकारी ती दुई अड्डामा प्रमुख हुने सौभाग्य नपाएका जानकारहरू बताउँछन् । डा.यादवलाई जनस्वास्थ्य प्रयोगशालाका निर्देशक बनाउन नै त्यहाँ निमित्त प्रमुख रहेका नवौँ तहका मेडिकल ल्याब टेक्नोलोजिस्ट मृत्युञ्जय साहलाई दरबन्दी नभएको मलंगवा अस्पतालमा धपाइएको छ ।
प्रदेश निजामती सेवा ऐनले कार्यालय प्रमुख वा विभागीय प्रमुखलाई अन्यत्र काजमा पठाउने परिकल्पना गरेको छैन । कार्यालय प्रमुख अन्यत्र काजमा हुँदा दरबन्दी रहेको कार्यालयको कामकाज प्रभावित हुने र अर्को ठाउँमा दोस्रो वरीयतामा रहने भए मनोबलमा असर पर्ने तथा दाहोरो कामकाजका कारण स्वार्थको द्वन्द्व हुन सक्ने भन्दै ऐनमा त्यस्तो व्यवस्था गरिएको एक अधिकारीले बताए । तर, ऐनको यस्तो प्रावधानलाई छल्न एक ठाउँमा कार्यालय प्रमुख भएका व्यक्तिलाई अर्को ठाउँमा सोही हैसियतमा पठाउन थप जिम्मेवारी भन्ने शब्दको प्रयोग गर्ने गरिएको छ । थप जिम्मेवारी भन्ने शब्दको ठोस कानुनी स्रोत छैन । मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवले आवश्यकताको सिद्धान्तका आधारमा डा. यादवलाई दुई ठाउँमा निर्देशक बनाइएको जिकिर गरे ।
दरबन्दीअनुसार सेवासमूह मिलेका कर्मचारीलाई पदस्थापन गर्न र काजमा खटिने कर्मचारीलाई दरबन्दीमा फर्काउन केही समयअघि मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका मधेश प्रदेश सरकारका प्रमुख सचिव कमलप्रसाद भट्टराईले एघारौँ तहका दरबन्दी भएका ठाउँमा माथ्ला तहकै व्यक्ति पठाउनु व्यावहारिक हुने भन्दै सोहीअनुसार डा.यादवलाई दुई कार्यालयको निर्देशक बनाइएको बताए । तर, त्यसो गर्नुका कानुनी आधार भने उनले खुलाउन सकेनन् ।
मधेश प्रदेशका स्वास्थ्य संस्थाहरू अहिले मेडिकल सामग्री आपूर्तिकर्ताको दबाबमा चलिरहेको आरोप लाग्ने गरेको छ । जानकारका अनुसार प्रदेश सरकारका केही कर्मचारी ती व्यापारीका स्वार्थ पूर्ति गर्ने पात्रमात्र बनेका छन् । “त्यसकारण डा.यादवका लागि सबै कानुन र अभ्यास ताकमा राखेर प्रदेशका दुई अड्डामा निर्देशक बनाइएको हो,” एक अधिकारीले भने ।




