प्रतिविषको अभाव हुँदा सर्पदंशको उपचार सङ्कटमा

जनकपुरधाम ।
वर्षायामसँगै सर्पदंशका घटना बढिरहेका बेला मधेश प्रदेशमा सर्पदंश र जनावरको टोकाइबाट हुने संक्रमण रोक्न प्रयोग हुने जीवनरक्षक खोप तथा प्रतिविषको अभाव देखिएको छ । अत्यावश्यक एन्टिरेबिज भ्याक्सिन (एआरभी) एन्टि स्नेक भेनम सिरम (एएसभिसी) समयमै आपूर्ति हुन नसक्दा बिरामीको उपचार प्रभावित हुने र ज्यानै जोखिममा पर्ने अवस्था सिर्जना भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले एआरभी र एएसभिसी नेपाली बजारमै पर्याप्त मात्रामा उपलब्ध नरहेको बताउँदै उपलब्ध हुनेबित्तिकै खरिद प्रक्रिया अघि बढाइने बताएका छन् । “रकम फ्रिज नहोस् भनेर पहिले औषधि उपलब्ध गराउने कम्पनी सुनिश्चित गर्ने र उपलब्ध परिमाणअनुसार तत्काल रकम निकासा गर्ने पक्षमा अर्थ मन्त्रालय छ,” मन्त्री भट्टराईले भने ।

सङ्घीय स्वास्थ्य निकायबाट खरिद तथा आपूर्तिमा भएको ढिलाइका कारण प्रदेश तथा स्थानीय तहअन्तर्गत सञ्चालित स्वास्थ्य संस्थामा एआरभी र एएसभिएसको नियमित आपूर्ति हुन सकेको छैन । प्रदेश सरकारले पनि हालसम्म आफ्नै स्रोतबाट पर्याप्त परिमाणमा खरिद गर्न नसक्दा धेरै अस्पताल तथा स्वास्थ्य संस्थामा मौज्दात न्यून हुँदै गएको छ ।

प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवका अनुसार केही स्वास्थ्य संस्थामा सीमित मात्रामा खोप तथा प्रतिविष मौज्दात रहे पनि अधिकांश स्थानमा मौज्दात सकिने अवस्थामा पुगेको छ । “कतिपय स्वास्थ्य संस्थामा सीमित मौज्दात छ भने धेरैजसो संस्थामा उपलब्धता शून्य हुने अवस्थामा पुगेको छ,” उनले भने ।

मधेश प्रदेशमा हाल २७ वटा स्वास्थ्य संस्थाबाट सर्पदंशको उपचार सेवा सञ्चालन हुँदै आएको छ । वर्षायाम र गर्मीको मौसम सर्पदंशका घटनाका दृष्टिले सबैभन्दा जोखिमपूर्ण समय मानिन्छ । यस अवधिमा खेतबारी, बस्ती र पानी जम्ने क्षेत्रमा सर्पको सक्रियता बढ्ने भएकाले उपचारका लागि एएसभिएसको पर्याप्त उपलब्धता अत्यन्त आवश्यक हुने चिकित्सकहरू बताउँछन् ।

केही दिनअघि सर्पदंशका कारण नौ वर्षीय एक बालकको मृत्यु भएपछि स्वास्थ्य अधिकारीहरू थप चिन्तित बनेका छन् । उपचारका क्रममा प्रतिविषको अभावले मृत्यु भएको हो वा अन्य कारणले भन्ने विषयमा अध्ययन गर्ने स्वास्थ्य सेवा विभागका निमित्त निर्देशकको अध्यक्षतामा सोमबार भएकोे उच्चस्तरीय अनलाइन बैठकले निर्णय गरेको छ । बैठकले घटनाको विस्तृत अध्ययन गर्नुका साथै मौज्दात समाप्त भएका स्वास्थ्य संस्थामा प्रदेश सरकारकै पहलमा आवश्यक खोप तथा प्रतिविष उपलब्ध गराउने सहमति गरेको छ ।

प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका अनुसार प्रादेशिक अस्पताल जनकपुरधाममा हाल एएसभिएसको सबैभन्दा बढी ३५० भाइल मौज्दात रहेको छ । तर, प्रादेशिक अस्पताल कलैया, धनुषाधाम नगरपालिका अस्पताल (धनुषा) तथा गौशाला नगर अस्पताल (महोत्तरी) मा एएसभिएसको मौज्दात शून्य रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी सातवटा स्वास्थ्य संस्थामा २०–२० भाइलका दरले मात्र मौज्दात रहेको छ । प्रादेशिक अस्पताल मलंगवामा २५०, प्रादेशिक अस्पताल सिरहामा १५०, सर्पदंश उपचार केन्द्र नवलपुरमा २१०, सर्पदंश उपचार केन्द्र बर्दिवासमा १५०, चोहर्वा सर्पदंश उपचार केन्द्र सिरहामा २१० तथा अन्य स्वास्थ्य संस्थामा सय वा सोभन्दा कम भाइल मौज्दात रहेको मन्त्रालयको विवरणमा उल्लेख छ ।

मन्त्रालयका सचिव डा. यादवका अनुसार सर्पदंशको प्रतिविष (एएसभिएस) र जनावरको टोकाइपछि दिइने एआरभी खरिदका लागि स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले अर्थ मन्त्रालयसँग दुई करोडका दरले चार करोड रुपैयाँ माग गरेको छ । तर, बजेट निकासा हुन नसक्दा खरिद प्रक्रिया अघि बढ्न सकेको छैन ।

स्वास्थ्यकर्मीहरूले वर्षायाममा सर्पदंश र कुकुर तथा अन्य जनावरको टोकाइका घटना बढ्ने भएकाले एआरभी र एएसभिएसको आपूर्ति थप ढिलाइ भए उपचार सेवा नै प्रभावित हुने र जनस्वास्थ्यमा गम्भीर संकट उत्पन्न हुन सक्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया
संबन्धित समाचार
ताजा समाचार
लोकप्रिय