सभापति थापाको त्यो ‘कल’ ले हटाइए मन्त्री जंगीलाल

खबर मधेश समाचारदाता
जनकपुरधाम, जेठ १२ ।
स्वास्थ्य तथा जनसँख्या मन्त्रीबाट हटाइएका जंगीलाल राय आज चार घन्टासम्म चलेको मन्त्रिपरिषद् बैठकमा सहभागी भए । केही निश्चित तथा नियमित प्रस्तावसँगै मन्त्रिपरिषद्को आज साँझ सम्भावित विस्तारपछि सरकारको कामकाज थप सुदृढ र प्रभावकारी बनाउने विषयमा मन्त्रीहरूबीच कुराकानी हुँदा उनी सामान्य र सहज देखिन्थे । मुख्यमन्त्री कृष्णप्रसाद यादवसँग ‘विश्वास र भरोसा’ को सम्बन्धमा रहेका उनले मन्त्री पदमा निरन्तरता पाइरहने कुरामा ढुक्क थिए । मधेश प्रदेश सरकारका लागि तीनदलीय गठबन्धनको पहल गरेका काँग्रेस सभापति गगन थापाले मुख्यमन्त्री यादवकै नेतृत्वमा सरकार रहने स्पष्ट गरिसकेपछि मन्त्रिपरिषद् सदस्यमा पार्टीका तर्फबाट फेरबदल नहुनेमा पनि उनी विश्वस्त थिए ।

तर, मन्त्रिपरिषद् बैठक सकिएपछिको भेटमा अचानक मुख्यमन्त्री यादवको ‘बडी ल्याङ्गवेज’ मा परिवर्तन आयो । उनी मन्त्री रायसँग पहिलेझैँ सहजतापूर्वक कुरा गर्न अप्ठ्यारो मान्न थाले । यो नै थियो मंगलबार मन्त्री रायको मनमा चिसो पसेको । मुख्यमन्त्री यादवले त्यतिबेलासम्म रायलाई मन्त्रिपरिषद्बाट उनको बहिर्गमन अवश्यम्भावी भएको सुनाएनन् ।

प्रदेशसभा सदस्य सँख्याका आधारमा काँग्रेसले मुख्यमन्त्रीसहित पाँच, नेकपा एमालेले चार र नेकपाले तीन मन्त्रालय पाउने स्थिति भएकाले पार्टीको असन्तुष्ट प्रदेशसभा सदस्यहरूमध्ये थप एकजना मन्त्री बन्ने हुँदा आफूलाई नहटाइने मन्त्री रायको अनुमान थियो । थप एक मन्त्रालय नपाएको खण्डमा पनि आर्थिक वर्षको अन्त्य भएकाले पार्टीले आफूलाई मन्त्री पदमा कायम राखिरहने विश्लेषणसमेत उनले केही दिनयता निकटस्थहरूलाई सुनाउँदै आएका थिए । प्रदेश सत्तामा साझेदारी गर्न लागेका नेकपा एमाले र थप मन्त्रीसहित सरकारमा संलग्नतालाई निरन्तरता दिने नेकपाले मन्त्रालय तोकेरै दाबी गरे वा काँग्रेसबाट नयाँ मन्त्री बनाए पनि धेरै बढीमा मन्त्रालय परिवर्तन हुन सक्ने उनको बुझाइ थियो । तर, त्यसविपरीत मंगलबार साँझ ५ बजेतिर मुख्यमन्त्री यादवले रायलाई उनलाई हटाउनुपर्ने र पार्टीका अर्का प्रदेशसभा सदस्यलाई स्वास्थ्य तथा जनसँख्या मन्त्रालय दिनुपर्ने सुनाए । आज अपराह्न मुख्यमन्त्रीको व्यवहारमा आएको बदलावबाट यस्तो हुन सक्ने कुराको उनले पहिले नै लख काटिसकेका थिए ।

आज स्वास्थ्य तथा जनसँख्या मन्त्री बनाइएका नागेन्द्र साहका लागि सरकारमा प्रवेश गर्ने मेसो काँग्रेस सभापति थापाको केही दिनअघि भएको बर्दिवास भ्रमणक्रममा नै जुरिसकेको थियो । पार्टी संसदीय दलका नेता एवम् मुख्यमन्त्री यादवसँग असन्तुष्ट छ जना प्रदेशसभा सदस्यहरूको समूहले पार्टी सभापति थापालाई भेटेर उनीहरूका तर्फबाट एकजनालाई मन्त्री बनाउन आग्रह गरेका थिए । केही दिनअघि काठमाडौंसमेत पुगेर सरकारको कार्यशैलीविरुद्ध पार्टी सभापति थापासँग भलाकुसारी गरेका रामसरोज यादव, वीरेन्द्रप्रसाद सिंहलगायतका प्रदेशसभाको सो समूहले त्यहाँ पनि मन्त्रिपरिषद्मा प्रतिनिधित्वबारे छलफल गरेका थिए ।

मंगलबार अपराह्न पार्टी सभापति थापाले मुख्यमन्त्री यादवलाई फोन सम्पर्क गरी मन्त्री रायको बहिर्गमन र उनको ठाउँमा सोही कार्यभारसहित नागेन्द्र साहलाई मन्त्री बनाउन निर्देशन दिए । मुख्यमन्त्री यादवले त्यसका लागि दुई दिन मागेको तर सभापति थापाले आज नै साहलाई पद तथा गोपनीयताको शपथग्रहण गराउन भनेपछि साह आजै मन्त्री बनेका हुन् । मन्त्री साह गत प्रतिनिधिसभा निर्वाचनमा पूर्वमन्त्री वीरेन्द्र सिंहसँगै पार्टी सभापति थापाका लागि अहोरात्र खटिएका थिए । सो निर्वाचनमा आफ्नो क्षेत्रका उम्मेदवारलाई पराजित गराउन भूमिका निर्वाह गरेको भनी बहिर्गमनमा परेका मन्त्री रायलाई पार्टीले स्पष्टीकरण नै सोधेको थियो ।

प्रतिक्रिया
संबन्धित समाचार