मधेश प्रदेश : व्यापारीको दबाबमा दसौँ तहका कर्मचारीलाई कनिष्ठ मातहत खटाइयो

जनकपुरधाम,
मधेशको शिक्षा तथा सँस्कृति मन्त्रालयका कुनै बेला निमित्त सचिव रहेका महेन्द्र महतोलाई सातौँ तहका शाखा अधिकृत मातहतमा काम गर्नेगरी मधेश प्रज्ञा प्रतिष्ठानमा पठाइएको छ । पछिल्लोपटक शिक्षा विकास निर्देशनालयको निर्देशकको जिम्मेवारीमा रहेका महतोलाई प्रतिष्ठानमा कामकाज गर्नेगरी गत चैत महिनामा खटाइएको हो । उनी गत वैशाख १५ गते प्रतिष्ठानमा हाजिर भएका छन् ।

मधेश प्रदेशको प्रदेश निजामती सेवा ऐन २०७७ मा कामकाज भनेको काज सरुवा हो । अधिकतम वर्षका तीन महिना र केही विशिष्ट प्रकृतिका संस्था वा परिस्थितिमा यस्तो कामकाज अधिकतम एक वर्षको हुन्छ ।

गठन आदेशले स्थापना भएको प्रतिष्ठानमा नवौँ र दशौँ तहका प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी छ । प्रतिष्ठानमा थप जिम्मेवारीमा कार्यरत सातौँ तहका अधिकृत आमोद यादव प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत छन् । संस्थाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रतिष्ठानको बोर्डले तय गर्ने कार्यविधि छ । सातौँ तहका अधिकृत यादवको पदाधिकार भने महतो केही समयअघिसम्म निर्देशक निर्देशक रहेको शिक्षा विकास निर्देशनालयमा नै छ । यादवलाई केही दिन अघि सामाजिक विकास एकाइ सप्तरीका प्रमुखमा थप जिम्मेवारीमा पठाइएको छ ।

प्रतिष्ठान बोर्डले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दसौँ तहका महतोलाई नदिएपछि कार्यकक्षविहीन समेत बनेका उनी कार्यालयमा हाजिर गर्ने र पुस्तकालयमा बस्ने गरेका छन् । प्रतिष्ठान बोर्डले वरिष्ठ कर्मचारी भएकाले महतोलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने भनेपछि महतोले हाजिर भएका बेला प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष प्रयोग गरेका थिए । तर, प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडिसँग कुराकानी भएअनुसार प्रमुख प्रशासकीय अधिकृत बनाउने बोर्डको निर्णय नआएपछि महतोलाई प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट बाहिरिनु परेको थियो ।

प्रमुख प्रशासकीय अधिकृत यादवले सरकारले कामकाज गर्न भनी प्रतिष्ठानमा पठाएका कर्मचारीलाई बोर्डले प्रमुख प्रशसकीय अधिकृत तोक्ने व्यवस्था रहेको तर त्यस्तो जिम्मेवारी नतोकिँदै महतोले आफ्नो नाउँको प्रमुख प्रशासकीय अधिकृतको बोर्ड उखेलेर कार्यकक्ष प्रयोग गर्न थालेपछि कार्यकक्षमा ताल्चा लगाएको बताए । ‘प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा संवेदनशील दस्ताबेजहरू हुन्छन् । त्यसैलेम प्रशासकीय अधिकृत भएका बेला कार्यालयमा नहुँदा कार्यकक्षमा ताल्चा लगाउने गरेको छु,’ यादवले भने ।

दसौँ तहका कर्मचारी महतोले भने आफूभन्दा कनिष्ठ र केही दिनअघिसम्म आफ्नो मातहतमा रहेका कर्मचारी प्रमुख भएको कार्यालयमा आफू जिम्मेवारी विहीन रहँदा आफू झन्डै “डिप्रेसन” मा पुग्न थालेको बताए । नवौँ र दसौँ तहका कर्मचारीको सरुवा र काज गर्ने निकाय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले महतोलाई दिएको काजसम्बन्धी पत्रमा प्रतिष्ठानमा कामकाज गर्न भनिएको भए पनि जिम्मेवारीको प्रकृति तोकिएको छैन ।

प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडि भ्रमरले दसौँ तहका कर्मचारी महतो कार्यालयमा आएकै दिन हाजिर गराएको तर प्रमुख प्रशासकीय अधिकृत र बोर्डका सदस्यसचिव रहेका सातौँ तहका कर्मचारी यादव बोर्ड बैठकमा नआइदिँदा जिम्मेवारी तोक्न कठिन भएको बताए । यद्यपि आजको मितिमा महतोलाई प्रमुख प्रशासकीय अधिकृत बनाउने निर्णय बोर्डले गरिसकेको अध्यक्ष भ्रमरले जानकारी दिए । ‘तर, बोर्डको त्यो निर्णय अहिलेसम्म सदस्यसचिव रहेका यादवले प्रमाणीकरण नगर्दासम्म लागु गर्न मिल्दैन । सप्तरीमा रहेका यादवले निर्णयमा हस्ताक्षर गर्न आफू आउने बताएका छन्,’ अध्यक्ष भ्रमरले भने ।

शिक्षा विकास निर्देशनालयको निर्देशकबाट हटाइएका महतोको ठाउँमा आठौँ तहका उद्धव राय यादवलाई निमित्त निर्देशक बनाइएको छ । झोलासहित जुमेट्रिक सामग्री, सिकाइ सामग्री र स्पोर्ट किट्स खरिदको बजेट गत तीन वर्षदेखि विनियोजन हुँदैआएको छ । सो सामग्री आपूर्ति गर्न स्पेक लक गरी विराटनगरका एक व्यावसायीलाई दिन तत्कालीन शिक्षा मन्त्री रानी तिवारी र कयौँपटक फेरिएका मुख्यमन्त्रीहरूका दबाब अस्वीकार गर्दैआएकाले केही समययता शिक्षा विकास निर्देशनालयका निर्देशकहरू फेरिँदैआएका छन् ।

प्रतिक्रिया
संबन्धित समाचार