मधेश प्रदेश : असारे विकासमा लगाम, धेरै शीर्षकका बजेट कटौती

जनकपुरधाम
मधेश प्रदेश सरकारले मंगलबारबाट नयाँ कार्यक्रम र साना योजनामा पूर्ण रूपमा रोक लगाएको छ । सरकारले अनुत्पादक खर्चलाई पनि शतप्रतिशत रोक्का गरेको छ । केही शीर्षकमा ५० प्रतिशत र केहीमा ३० प्रतिशत खर्च कटौती गरिएको छ ।

आर्थिक वर्षको अन्त्यमा हतारहतारमा बजेट खर्च गर्ने असारे विकासको प्रवृत्ति अन्त्य गर्न र वित्तीय अनुशासन कायम गर्न जेठ २६ गतेबाट विभिन्न शीर्षकका बजेट कटौती र रोक्का गर्ने निर्णय गरिएको अर्थमन्त्री युवराज भट्टराईले जानकारी दिए ।
अर्थ मन्त्रालयका अनुसार हालसम्म कार्यादेश नलिइएका सबै आयोजना तथा कार्यक्रमहरूको बाँकी रकम पूर्ण रूपमा रोक्का गरिएको छ । अन्य सार्वजनिक निर्माण अन्तर्गतका १० लाख वा सोभन्दा बढी कम बजेट भएका साना आयोजनाहरूको रकम पनि खर्च गर्न नपाउनेगरी पूर्ण रूपमा रोक्का गरिएको छ ।

यसैगरी अनुत्पादक खर्चलाई पूर्ण निषेध गर्ने उद्देश्यले कर्मचारी तालिम खर्च, अनुगमन तथा मूल्यांकन खर्च, अन्य भ्रमण खर्च, अन्य प्रयोजनको इन्धन, सूचना प्रणाली तथा सफ्टवेयर सञ्चालन खर्चजस्ता शीर्षकमा विनियोजित रकममध्ये खर्च हुन बाँकी सम्पूर्ण रकम रोक्का गरिएको छ ।

सवारी साधन मर्मत, मेसिनरी औजार मर्मत सम्भार, कार्यक्रम खर्च, भ्रमण खर्च, पत्रपत्रिका तथा छपाई खर्चजस्ता शीर्षकमा विनियोजित रकममध्ये खर्च हुन बाँकी रकमको

५० प्रतिशत कटौती गरिएको छ । मसलन्द तथा कार्यालय सामग्रीको विनियोजित रकममध्ये खर्च हुन बाँकी रकममध्ये ३० प्रतिशत कटौती गरिएको छ ।
बजेट सकाउने नियतले नै आलाकाँचा काम गर्ने प्रवृत्ति निरुत्साहित गर्न अर्थ मन्त्रालयको यस कदमलाई महत्त्वपूर्ण र सार्थक मानिए पनि चालू आर्थिक वर्षको अन्त्यतिर मात्र विभिन्न शीर्षकका बजेट खुला गरेको अवस्थामा सो निर्णयबाट धेरैवटा अत्यावश्यक योजना बाधित हुने बताइएको छ ।

प्रतिक्रिया
संबन्धित समाचार
ताजा समाचार
लोकप्रिय