जनकपुरधाम, ११ कात्तिक ।
जनकपुरधामका प्रसिद्ध व्यवसायी प्रकाश भगतले सञ्चालन गरेको नयाँ नवरंग होटलको मंगलबार उद्घाटन गरिएको छ ।
जनकपुरधाममा होटल तथा रेस्टुरेन्ट व्यवसायलाई व्यावसायिक र संस्थागत रूपमा अगाडि बढाउँदै आएका भगतले शिवचोकस्थित पुरानो नवरंगलाई नयाँ स्वरूप र विस्तारित सेवासहित सञ्चालनमा ल्याएका हुन् । नयाँ स्वरूपमा विस्तार भएको होटलले जनकपुरधाम आउने पर्यटक तथा अन्य पाहुनालाई आरामदायी, सुविधाजनक र सुरक्षित बसोबासको विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
होटल सञ्चालक भगतका अनुसार होटलमा बसोबास तथा खानपानको सुविधा उपलब्ध छ । होटलमा एकल, कपल, डबल तथा पाँचजनासम्म बस्न मिल्ने बेडको व्यवस्था गरिएको छ । समूहमा आउने पर्यटकका लागि सवारीसाधन पार्किङको सुविधा र चालकका लागि निःशुल्क बसोबासको व्यवस्था पनि गरिएको उनले बताए ।
होटलका कोठामा आरामदायी बेड, एट्याच बाथरुम, अध्ययन तथा विश्रामका लागि टेबल–कुर्सी र वातानुकूलित सुविधा उपलब्ध छन् । प्रत्येक कोठामा चौबीसै घण्टा तातो तथा चिसो पानीको व्यवस्था रहेको होटलका प्रबन्धक शशिकुमार साहले जानकारी दिए । उनका अनुसार पाहुनाले कोठाभित्रै रेस्टुरेन्टको सेवा पनि लिन सक्नेछन् ।
होटल परिसरमा पारिवारिक रेस्टुरेन्टसमेत सञ्चालन गरिएको छ । व्यवसायी भगतले चार दशकदेखि सञ्चालन गर्दै आएको पुरानो नवरंग रेस्टुरेन्टको स्वाद र पहिचानलाई निरन्तरता दिँदै नयाँ रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो ।
रेस्टुरेन्टमा नवरंगको विशेष पहिचानका रूपमा रहेको मिथिला खानाका साथै नेपालका विभिन्न क्षेत्रका परिकार र भारतीय स्वादका खानासमेत उपलब्ध हुनेछन् ।
होटलमा एक सयजनासम्म अटाउन सक्ने क्षमताको सभाकक्ष पनि निर्माण गरिएको छ । यसले सरकारी कार्यक्रम, पारिवारिक जमघट, बैठक तथा विभिन्न कार्यक्रम आयोजना गर्न सहज हुने अपेक्षा गरिएको छ ।
नयाँ नवरंगले पुरानो रेस्टुरेन्टको स्वाद र पहिचानलाई निरन्तरता दिने विश्वास व्यक्त गर्दै होटलका नियमित ग्राहक किशन कर्णले भने, “स्वादका दृष्टिले पुरानो नवरंग होटल पहिले पनि अतुलनीय थियो । नयाँ नवरंगले त्यसकै विरासतलाई निरन्तरता दिनेछ ।”




