खबर मधेश समाचारदाता
जनकपुरधाम, जेठ १२ ।
जनस्वास्थ्य प्रशासकहरूको वृत्तिविकास नै अवरुद्ध हुनेगरी मधेश प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको जनस्वास्थ्य तथा नीति तर्जुमा महाशाखा प्रमुखको दरबन्दी एकीकृत चिकित्सा समूहबाट कायम गरिएको छ । वरिष्ठ, उप र स्वास्थ्य प्रशासक पदनाममा विभाजित नवौँ र दसौँ तहका एकीकृत चिकित्सा समूहका अधिकारीलाई मन्त्रालयको जनस्वास्थ्य तथा नीति तर्जुमा महाशाखा प्रमुखका रूपमा संगठन संरचनामा राखिएको छ । मधेश प्रदेशमा एकीकृत चिकित्सा समूहका दुई अधिकारी डा.नवलकिशोर झा र डा.मुक्तिनारायण साह छन् । एकीकृत चिकित्सा समूहका ती दुवै अधिकारी आयुर्वेद चिकित्साशास्त्रका स्नातक तथा जनस्वास्थ्य विषयका स्नातकोत्तर हुन् ।
पदनाम, दरबन्दी र कार्यविवरणबाट परिभाषित हुने एकीकृत चिकित्सा समूह नेपालको स्वास्थ्य सेवाभित्रको पुरानो समूह हो । तर, यो समूह अहिले निकै साँघुरिँदै लगभग अवशेषको अवस्थामा छ । कानुनी रूपमा समाप्त नभए पनि कार्यक्षेत्र, आवश्यकता र व्यवहारिक औचित्यमा नै प्रश्न उठिरहेका बेला एकीकृत चिकित्सा समूहका अधिकारीको पदस्थापनका लागि समुदायको स्वास्थ्य सुधार, रोग रोकथाम र स्वास्थ्य प्रवद्र्धन गर्ने प्रणालीका लागि नीति निर्माण, योजना तर्जुमा, अनुगमन, मूल्याङ्न तथा समन्वय लगायतका काम गर्ने उपल्लो संयन्त्रमा दरबन्दी नै सिर्जना गरिनुलाई अर्थपूर्ण ढङ्गले हेरिएको छ ।
अवधारणात्मक रूपमा विभिन्न चिकित्सा प्रणालीबीच समन्वय, एकीकृत सेवा प्रदान, समग्र हेरचाह तथा रोग रोकथाम र उपचार सेवाबीचको सम्बन्ध कायम गर्ने सन्दर्भमा एकीकृत चिकित्सा समूहका अधिकारीलाई उपयुक्त जनशक्ति मानिन्छ । जनस्वास्थ्य प्रणालीमा हेल्थ इन्सपेक्सन समूह अर्थात् जनस्वास्थ्य प्रशासकको अवधारणाले औपचारिक र कानुनी रूप लिनुअघि एकीकृत चिकित्सा समूहका अधिकारीहरू स्वास्थ्य प्रशासन तथा जनस्वास्थ्यका केही काममा संलग्न रहँदैआएका थिए । अस्पष्ट कार्यक्षेत्र, न्यून जनशक्ति, कमजोर संस्थागत प्रभाव र विवादित पेशागत औचित्यका कारण संरचनागत सङ्कटमा पुगेको एकीकृत चिकित्सा समूहका अधिकारीलाई दरबन्दीमार्फत जनस्वास्थ्थ नीति तथा योजना बनाउन दिने विशिष्टीकृत काम दिएपछि प्रदेशका जनस्वास्थ्य प्रशासकहरू निराश भएका छन् । देशको जनस्वास्थ्य प्रणालीमा जनस्वास्थ्य प्रशासकलाई जनस्वास्थ्य नीति, योजना, कार्यक्रम र सेवा व्यवस्थापन गर्ने प्रशासनिक–प्राविधिक पद मानिन्छ । संघ सरकारले प्रदेश सरकारका लागि पठाएको दरबन्दीसम्बन्धी सुझावमा नीति, कानुन, मापदण्ड तथा जनस्वास्थ्य महाशाखा प्रमुखको दरबन्दीमा हेल्थ इन्सपेक्सन समूहकै वरिष्ठ जनस्वास्थ्य प्रशासकलाई राखेको छ ।
मन्त्रालयको जनस्वास्थ्य तथा नीति तर्जुमा महाशाखा जनस्वास्थ्य प्रणाली व्यवस्थापन केन्द्रित संरचना भएकाले संगठन संरचना बनाउनेक्रममा आफूहरूले जनस्वास्थ्य सम्बद्ध जनशक्तिलाई महाशाखाको दरबन्दीमा राख्न सुझाएको जनस्वास्थ्यविज्ञ एवम् मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका पूर्वनिर्देशक विजयकुमार झाले बताए । उनले दरबन्दीका विषयमा भएका धेरैवटा छलफलमा आफूले निश्चित कामका लागि उचित जनशक्ति हुनुपर्ने भन्दै जनस्वास्थ्य नीतिको मुख्य महाशाखाको नेतृत्व सामान्य स्वास्थ्य प्रशासकलाई दिन नहुने धारणा व्यक्त गरेको सुनाए । उनले भने,“मैले केरमेट गरेर सच्चाएँ, अरूले यस्तै गरेर बिगारे । दरबन्दी फरक रूपमा कायम भयो ।”
प्रदेशमा सामाजिक विकास मन्त्रालय विभाजित भई स्वास्थ्य तथा जनसँख्या मन्त्रालय गठन हुँदा बनाइएको संगठन संरचनामा मन्त्रालयको जनस्वास्थ्य तथा नीति तर्जुमा महाशाखा प्रमुखका रूपमा एकीकृत चिकित्सा समूहको दरबन्दीमात्र राख्नु सामान्य त्रुटि मात्र नभएर नियोजित कार्य भएको अनुमान गरिएको छ । त्यस समयमा मन्त्रालयमा यस समूहका डा.साह कार्यरत थिए । त्यसबेलै एकमात्र समूहलाई महाशाखाको नेतृत्व लिनेगरी दरबन्दी “लक” गरिएको मन्त्रालयका अधिकारीहरू बताउँछन् । उनका अनुसार मन्त्रिपरिषद्बाट दरबन्दी स्वीकृत भइसकेको अवस्थामा सिंगो सरकार र त्यस प्रक्रियामा संलग्न अधिकारीहरूले त्रुटिपूर्ण कार्यको सामूहिक नैतिक जिम्मेवारी लिनुपर्ने भएकाले दरबन्दीका विषयमा सरकारी वृत्तमा त्यसबारे विमर्श निषिद्ध गरिएको छ ।
मन्त्रालयको जनस्वास्थ्य तथा नीति तर्जुमा महाशाखा प्रमुखमा जनस्वास्थ्यका क्याडरलाई प्राथमिकता र प्रोत्साहन हुनेगरी दरबन्दी नबनाइँदा सरकारले जनस्वास्थ्यका क्याडरलाई पन्छाएर वैकल्पिक प्रशासनिक मार्ग अपनाएको आरोप जनस्वास्थ्य प्रशासकहरूको छ । सरकारको जनस्वास्थ्य सम्बन्धी नीति र प्राथमिकता बदलिएका बेला एकीकृत चिकित्सा सेवा समूहका अधिकारीलाई जनस्वास्थ्य नीति बनाउने कामको मुख्य जिम्मेवारी दिइँदा सेवा विशेषज्ञता कमजोर हुने र कामको सामान्यीकरण हुने खतरा बढेको उनीहरूको भनाइ छ । नाउँ नलेख्ने शर्तमा एक जनस्वास्थ्य प्रशासकले भने, “यसबाट सेवा संरचनाअनुसार करिअर बनाएका हाम्रो पहिचान, मनोबल र नेतृत्व गर्ने संयन्त्रमा पुग्ने प्रक्रिया सबै बाधित हुनेछ ।”
एकीकृत चिकित्सा समूहका दसौँ तहका अधिकारी झाले समूहका कर्मचारीहरू केही वर्षभित्रमै सेवानिवृत्त हुनेहुँदा हेल्थ इन्सपेक्सन समूहका अधिकारीलाई खासै समस्या नहुने बताए । उनले समूह नै फेज आउट हुने अवस्था भएका बेला प्रदेशका यस समूहभित्रका कर्मचारीको दरबन्दी कतै हुनुपर्ने भएकाले मन्त्रालयको सो महाशाखा र स्वास्थ्य निर्देशनालयमा दरबन्दी कायम गरिएको खुलाए । उनले मन्त्रालयको जनस्वास्थ्य तथा नीति तर्जुमा महाशाखा प्रमुखमा हेल्थ इन्सपेक्सन समूह वा एकीकृत चिकित्सा सेवाका अधिकारीको दरबन्दी रहेको अनुमान गरे ।
मन्त्रालयका सचिव डा.प्रमोदकुमार यादवले जनस्वास्थ्य तथा नीति तर्जुमा महाशाखाको त्रुटिपूर्ण दरबन्दी सच्चाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको जानकारी दिए ।




