प्रदेश सरकार विस्तारमा ढिलाइ, नयाँ ‘तारेख’ मंगलबार

खबरमधेश समाचारदाता
जनकपुरधाम, जेठ ११ ।
नेकपासँगको कुराकानी नछिनिएपछि सोमबार साँझ हुने भनिएको मधेश प्रदेश सरकारको विस्तार रोकिएको छ । मन्त्रिपरिषद्को विस्तार र नवनियुक्त मन्त्रीहरूको शपथग्रहण मंगलबार दुई बजेका लागि सारिएको मधेश प्रदेशसभामा नेकपा एमालेको संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले जानकारी दिए । दलहरूबीच सहमति जुट्दा मन्त्रीहरूको नियुक्ति र शपथग्रहण टरेको यो दोस्रोपटक हो ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिएयता सत्तारुढ नेकपा र विश्वासको मत दिने नेकपा एमालेबाट मन्त्रीहरू नियुक्त गर्ने दबाबमा छन् । तर, मन्त्रालयको बाँडफाँट र सँख्यामा कुरा नमिल्दा यसमा ढिलाइ भइरहेको छ । पछिल्लोपटक नेकपालाई अर्थमन्त्री र थप दुई मन्त्रालय दिनेगरी टुङ्गो लागेपछि सोमबार साँझ भनिएको मन्त्रीहरूको शपथग्रहण नेकपाले मन्त्रीको सूची नबुझाउँदा भएन । एमाले संसदीय दलका नेता यादवले नेकपाले मन्त्रीको नामावली टुङ्ग्याउन नसक्दा आजको शपथग्रहण रोकिएको बताए । उनले भने, “उहाँहरूले भोलि २ बजे नामको टुङ्गो लगाएपछि मन्त्रीपरिषद् विस्तार हुनेछ ।”

यता नेकपाको संसदीय दलका नेता युवराज भट्टराईले सरकारमा सहभागी हुन आफूहरूले प्रस्तुत गरेको १४ बुँदे प्रस्तावमा सहमति नजुटेपछि पार्टी सरकारमा आज सहभागी नभएको बताए । उनले हिजो र आज मन्त्रीहरूले शपथग्रहण गर्ने समय आफूहरूको सहमतिबिनै तोकिँदै आएको समेत प्रस्ट्याए । उनले भने, “१४ बुँदे प्रस्तावबारे निक्र्योल नहुँदासम्म हामी सरकारमा सहभागी हुँदैनौँ ।” त्यस प्रस्तावमाथिको तीन दलीय छलफल भने भोलि पनि जारी रहने नेता भट्टराईले बताए ।

नेकपाको ९ बाट ११ र ११ बाट १४ बुँदे पुगेको प्रस्तावमा सरकार सञ्चालनको कार्यशैली तथा कार्ययोजना समेटिएका छन् । जसमा उपभोक्ता समितिबाट काम नगराउने कुरा समेत उल्लेख छ ।

मधेश प्रदेश सरकारको विस्तारबारे नेपाली काँग्रेस, नेकपा एमाले र नेकपाबीच केन्द्रीय तथा प्रादेशिक दुवै तहमा छलफल भइरहेको छ ।

प्रतिक्रिया
संबन्धित समाचार