‘ह्रस्व दीर्घ’को गीतमा आमाको महिमा वर्णन

यही कात्तिक ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ह्रस्व दीर्घ’को एकपछि अर्को प्रचारात्मक सामाग्री सार्वजनिक भइरहेका छन् । ‘उठेर नाचिस्यो’ गीत र अघिल्लो हप्ता सार्वजनिक ट्रेलरले राम्रो ‘हाइप’ निर्माण गरिरहँदा फिल्म रिलिजको संघारमा नयाँ गीत ‘भगवान् नै आमा हुन्’ सार्वजनिक गरिएको छ । आमाको महिमा वर्णन गरिएको गीत मर्मस्पर्शी छ ।

सार्वजनिक गीतमा सत्यराज आचार्यको गायन तथा बाबुल गिरीको शब्द रचना छ । लिरिकल भिडियोमा फिल्मभित्रका चल/अचल दृश्य समावेश छन् । सन्तानका लागि एक आमाले गर्ने संघर्ष, त्याग र समर्पणको भाव गीतमा छ । अभिनेत्री विपना थापालाई आमाको रुपमा चित्रित गरिएको छ । उनको अभिनय मनछुने छ । उनले यही फिल्मबाट १३ वर्षपछि कमब्याक गरेकी हुन् ।

चन्द्र पन्तको निर्देशनमा तयार भएको फिल्ममा नेपाली र दक्षिण भारतका कलाकारहरुको ‘पल्टन’ नै छ । फिल्ममा साउथबाट ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अली, कबीर दुहन सिंहसहित नेपाली कलाकारहरु विपनासँगै नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, रेखा थापा, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, रविन्द्र झा लगायतको अभिनय रहेको छ ।

हरिहर अधिकारीको कथा, प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई बलिउडका प्रसिद्ध छायाँकार कवीरलालले खिचेका हुन् । नीता ढुंगाना निर्माता र धनन्जय गलानी कार्यकारी निर्माता रहेको फिल्म विश्वभर नेपाली र हिन्दी भाषामा रिलिज हुनेछ । तेलुगु भाषामा पनि फिल्मलाई स्वरांकन गरिएको छ ।

प्रतिक्रिया
संबन्धित समाचार
ताजा समाचार
लोकप्रिय